
महोत्तरी, १ पुस– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरमा सोमबार दिनदहाडै एउटी महिलाको २० हजार रुपैयाँ नगदसहित महत्वपूर्ण कागजात लुटिएको छ ।
नगरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट नगद झिकेर घर फर्कन लागेकी जिल्लाकै इकरहिया–९ की सिहन्तादेवी कापरको नगदसहित महत्वपूर्ण कागजात राखिएको झोला सदरमुकामको अति व्यस्त मटिहानीचोकमा लुटिएको हो ।
दिउँसो १ बजेतिर बैंकबाट नगद साटेर घर फर्कंदै गर्दा नगरको सो चोकमा मोटरसाइकल चढेर आएको एकजनाले सारीमा हिलो छ्यापिदिएको र चापाकलमा फोहर धुन लाग्दा छेउमै राखिएको झोला उसैले लिएर भागेको कापरको भनाइ छ । घटनालगत्तै प्रहरीलाई खबर गरे पनि लुटेरा भने फेला परेको छैन ।
पीडितले खबर गर्न ढिलाइ गर्दा लुटेरा भाग्न सफल भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट भारतसँगको सीमास्थल नजिकै भएकाले लुटेरा तत्काल उतै भागेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
आफ्नो लुटिएको झोलामा रु २० हजार नगद, नागरिकताको प्रमाणपत्र र जग्गाधनी प्रमाणपुर्जासहितका कागजात एवम् ओढ्ने खास्टो र दुईवटा सुरुवाल रहेको पीडित सिहन्तादेवी कापरले बताए ।