
काठमाण्डु, १ पुस– उच्चस्तरीय समितिको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच समानुपातिकतर्फको उम्मेदवारहरुको नामावली बुझाउने अन्तिम म्याद एक हप्ता थप्न निर्वाचन आयोगलाई आग्रह गर्ने सहमति जुटेपछि काँग्रेसको संसदीय समितिको बैठकमा समानुपातितर्फको नामावलीबारे कुनै छलफल भएन ।
यसैबीच काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले समानुपातिक उम्मेदवारको नामावली बुझाउने म्याद थप्ने दलहरुबीच सहमति बनेकाले संविधानसभा निर्वाचनपछि एमाओवादीलगायतका राजनीतिक दलहरु संविधानसभामा पुग्दैनन् कि भन्ने चिन्ता निराकरण भएको दावी गरे ।
आयोगले दिएको पहिलो म्यादमा काँग्रेसले आग्रह गरेपछि पुस २५ को म्यादलाई आयोगले बढाएर पुस ३ सम्म पुर्याएको थियो ।
नेपाली काँग्रेसले मुलुकको समसामयिक राजनीतिबारे केन्द्रीय समितिको बैठक बोलाएर सबै केन्द्रीय सदस्यलाई जानकारी गराउने र त्यसबारेमा सुझावसमेत लिने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै सिटौलाले उच्चस्तरीय राजनीतिक समितिको बैठकमा भएको सहमतिले संविधानसभा निर्वाचनपछि देखिएको अन्योल घट्दै गएको बताएका हुन् ।
उनले भने, ‘अब सबै दल सँगसँगै संविधानसभामा पुग्ने वातावरण बनेको छ । उच्चस्तरीय राजनीतिक समितिको बैठकमा भएको सहमतिले आज बस्ने भनिएको पूर्वनिर्धारित संसदीय समितिको बैठक भएन तर एकपटक केन्द्रीय समितिका सबै सदस्यलाई बोलाएर देशको समसामयिक राजनीतिबारे जानकारी गराउने र सुझाव लिने काम गर्छौं ।’