
बागलुङ, २९ मंसिर–देशको एक मात्र सिकार आरक्षमा पहिलो यामको सिकारबाट ४४ लाख रुपैया राजस्व सङ्कलन भएको छ ।
चालु आवको पहिलो यामअन्तर्गत असोजदेखि मङ्सिरसम्म विदेशीले खेलेको सिकारबाट उक्त राजस्व रकम सङ्कलन भएको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ ।
वन्यजन्तु संरक्षण विभागका अनुसार पहिलो याममा सिकार आरक्षमा विभिन्न देशका सिकारीले ११ नाउर र चार झारलको सिकार गरेबापत रु ४३ लाख ७१ हजार राजस्व बुझाएका छन् । यस याममा स्पेन, अमेरिका, रुस, डेनमार्कलगायत अन्य देशका सिकारीले सिकार आरक्षका सात ब्लकमध्ये सेङ, गुस्तुङ, फागुने, बार्से र दोगाडी ब्लकमा मात्र सिकार गरेका थिए ।
सुनदह ब्लकमा वन्यजन्तु विभागले टेन्डर आह्वान गरे पनि निकै टाढा पर्ने र लामो समयसँगै बढी खर्च लाग्ने भएकाले सिकारको प्रस्ताव नआएको ढोरपाटन सिकार आरक्षका प्रमुख विश्वबाबु श्रेष्ठले बताए ।
यस्तै सुर्तिबाङ ब्लकमा भने नाउर नपाइने र झारलको सङ्ख्या पनि अत्यन्त न्यून भएपछि चार वर्षदेखि सिकार गर्न रोक लगाइएको छ । वन्यजन्तु विभागले पहिलो यामका लागि १३ नाउर र छ झारलको सिकारका लागि कोटा निर्धारण गरे पनि कोटाअनुसारको माग नआएको आरक्ष प्रमुख श्रेष्ठले जानकारी दिए ।
यस वर्ष वन्यजन्तु विभागले सिकारको दर बढाएकाले विगतका वर्षमा भन्दा राजस्व सङ्कलनमा वृद्धि हुने अनुमान गरिएको छ । गत आवमा सिकार आरक्षले दुवै याममा गरी रु ७३ लाख राजस्व सङ्कलन गरेको थियो । यसअघि एक नाउर वा झारलको सिकार गरेमा अधिकतम रु एक लाख ८७ हजारदेखि न्यूनतम रु एक लाख ६० हजारसम्म तिर्ने गरेका सिकारीले यस वर्ष सिकार दर बढेपछि अधिकतम रु तीन लाख २० हजारदेखि न्यूनतम रु एक लाख ८० हजारसम्म तिरेका छन् । आरक्षमा वन्यजन्तु विभागमार्फत स्वीकृति लिएका सिकार एजेन्सीमार्फत विभिन्न देशका सिकारी सिकार गर्न आउने गर्छन् ।
हरेक वर्ष दुई याममा यहाँ सिकारका लागि अनुमति खुला गर्ने गरिन्छ । वर्षको दोस्रो सिकार याम फागुनदेखि वैशाखसम्म रहने आरक्ष कार्यालयले जनाएको छ । ढोरपाटन क्षेत्र विदेशी सिकारीका लागि आकर्षक गन्तव्यका रुपमा विकास भएको छ । सिकारी हेलिकप्टरबाट उडान भरेर ढोरपाटन पुग्ने गर्छन् । रासस