काठमाण्डु, २८ मंसिर– संविधानसभा निर्वाचनमा धाँधली भएको दावी सहित छानविनको माग गर्दै आएका १८ दलको संयुक्त बैठकले कार्यदलले पेश गरेको सुझाव प्रतिवेदनलाई अन्तिम रुप दिएर मात्र गठबन्धन निर्माण गर्ने निर्णय गरेको छ ।
एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार भएको बैठकमा कार्यदलको प्रतिवेदनमा थप अध्ययन गर्नुपर्ने भन्दै तत्काल गठबन्धन निर्माण नगरिहालेको संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले बताए ।
१८ दलले आ–आफ्नो केन्द्रीय समिति, स्थायी समिति र कार्य सम्पादन समितिमा थप छलफल गरेर ठोस निश्कर्ष गर्ने निर्णय भएको उनले बताए ।
उनले भने, ‘दलहरुले आ–आफ्नो पार्टीमा छलफल गरेपछि गठबन्धन निर्माण प्रक्रियालाई अन्तिम रुप दिने छ । अब १८ दलको बैठक पुस २ गते बस्ने छ ।’
पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान निर्माणका लागि आफूहरुले गठबन्धन आवश्यक देखेको भन्दै श्रेष्ठले भने, ‘निर्वाचनमा भएको धाँधली छानबिनका लागि दवाव दिने मोर्चाको रुपमा गठबन्धन गठन हुनेछ ।’
एकीकृत माओवादी नेता बर्षमान पुन नेतृत्वको कार्यदलले गठबन्धनको अवधारणा सहितको खाका तयार पारेर यसअघिको बैठकमा पेश गरेको थियो । गठबन्धनले तत्कालको लागि निर्वाचनमा भएको भनिएको धाँधली छानविन गर्न दवाव दिने र पहिचान सहितको संघियता तथा संघियतासहितको संविधान जारी गर्न भूमिका खेल्ने बताउँदै आएको छ ।
एमाओवादी, मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, संघीय समाजवादी पार्टीलगायत १८ दल गठबन्धनमा छन् । ति दलले दोस्रो संविधानसभा निर्वाचनमा संस्थागत, प्रकृयागत र नीतिगत रुपमा धाँधली भएको जिकीर गर्दै छानविन प्रक्रिया सुरु नभएसम्म संविधानसभामा नजाने घोषणा गरेका छन् ।