
म्याग्दी, २७ मंसिर–तरकारी, फलफूल र दुग्ध उत्पादनका लागि पकेट क्षेत्र मानिने म्याग्दीको सिङ्गा गाविसस्थित बास्कुना गाउँका कृषक आवश्यक सिँचाइ सुविधा नहुँदा समस्यामा परेका छन् । सिँचाइका लागि मुहान भए पनि खेतबारीसम्म पानी ल्याउनका लागि सिँचाइ आयोजनाको अभाव भएको स्थानीय कृषकको भनाइ छ ।
गाउँदेखि करिब ६ किलोमिटर टाढा भकिम्ली–२ मा सिँचाइका लागि बालमखोलाबाट पानी ल्याउन सकिने भए पनि सरोकारवाला निकायको बेवास्ताको सिँचाइ सुविधा पाउन नसकेको अगुवा कृषक तिलक गुरुङले बताए ।
सिङ्गा गाविस–१, २ र ३ बास्कुना, थामडाँडा र सुर्केमेला गाउँलाई लक्षित गर्दै दुई वर्षअगाडि सिँचाइ सुविधाको मागपत्र क्षेत्रीय सिँचाइ कार्यालय पोखरा, डिभिजन सिँचाइ कार्यालय बागलुङ र तत्कालीन सभासदमार्फत सिँचाइ मन्त्रालयमा समेत पेस गरे पनि कुनै निकायबाट पनि त्यसबारे सम्बोधन नभएपछि अहिले कृषकलाई समस्या भइरहेको स्थानीय कृषकको भनाइ छ ।
पशुपालन र कृषिमा प्रचुर सम्भावना रहेको बास्कुना गाउँका कृषकले सम्बन्धित निकायबाट सिँचाइ सुविधाका लागि पहल भएमा सुन्तला तथा फलफूलखेतीलाई विस्तार गर्ने जनाएका छन् ।