
काठमाण्डु २६ मंसिर–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बदनियतपूर्ण ढङ्गले ऋण प्रवाह गरी बैंकलाई नोक्सानी पु¥याएको अभियोगमा ६ जनालाई हिरासतमा लिएर अनुसन्धान थालेको छ ।
आयोगले सुनसरी जिल्लाको औरावनी गाविस–५ को रु एक लाख ८७ हजार ५०० पर्ने दुई कित्ता जग्गाको रु ७० लाख मूल्याङ्न गरी मनकामना डेभलपमेन्ट बैंक, घरेलु तथा साना उद्योग विकास बैंक हुँदै यति डेभलपमेन्ट बैंकलाई हानी पु¥याएको अभियोगमा उनीहरूलाई बुधबार हिरासतमा लिएको हो ।
आयोगका प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार आयोगले यति डेभलपमेन्ट बैंकका तत्कालीन कार्यकारी अध्यक्ष सीताराम प्रसाईं, तत्कालीन महाप्रबन्धक भागवत श्रेष्ठ, तत्कालीन वरिष्ठ प्रबन्धक सुनिल गुरुङ, खोसी मार्केटिङ प्रालिका सञ्चालक केशवलाल खोसी श्रेष्ठ र उनका वारिस सुनिल प्रधान र सुनसरी जिल्ला मालपोत कार्यालयका तत्कालीन खरिददार दिब्यराज घिमिरेलाई हिरासतमा लिएको हो ।
अभियुक्तहरूले ऋणी केशवलाल खोसीसँग मिलोमतो गरी आवश्यक कागजात नहेरी, नक्कली नागरिकता र लालपूर्जासहितका धितो कागतपत्रका आधारमा ऋण प्रवाह गरेकाले अनुसन्धानका लागि आयोगको हिरासतमा लिइएको प्रवक्ता घिमिरेले जानकारी दिए । रासस