
सोलुखुम्बु, २४ मंसिर– सोलुखुम्बुको विकट गाविस केरुङस्थित चाँगेस्थान उच्च माविलाई रु नौ लाख पाँच हजार बराबरको शैक्षिक सामग्री प्राप्त भएको छ ।
फ्रान्सेली पर्यटकले केटाकेटी नाम संस्थामार्फत विद्यालयलाई सो सहयोग उपलब्ध गराएका हुन् । पर्यटकले विद्यालयलाई आठ थान ल्यापटप, आठ थान सोलार प्यानल, एक थान प्रिन्टर, एक थान प्रोजेक्टरलगायतका शैक्षिक सामग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक रोहितकुमार कार्कीले जानकारी दिए ।
ती पर्यटकले कम्प्युटर कक्षा सञ्चालन गर्न केही समयको लागि कम्प्युटर शिक्षकको समेत व्यवस्था गर्ने बताएका विद्यालयले जनाएको छ । गाउँमा समेत बिजुली नभएकाले कम्प्युटर सञ्चालनका लागि सोलार अत्यन्तै उपयोगी भएको र अब विद्यार्थीले कम्प्युटर समेत सिक्न पाउने भन्दै प्रधानाध्यापक कार्कीले खुसी व्यक्त गरे ।