अलग तेलंगना राज्य गठन स्वीकृत

काठमाण्डु टुडे २०७० मंसिर २१ गते ४:५४ मा प्रकाशित

telangana-areaकाठमाण्डु, २१ मंसिर–भारतको केन्द्रीय मन्त्रिपरिषदले आन्ध्रप्रदेशबाट छुट्टै तेलंगना राज्य गठनको सहमति दिएको छ । प्रधानमन्त्री मनमोहन सिंहको अध्यक्षतामा विहीबार राती अबेरसम्म बसेको मन्त्रिपरिषद बैठकले अलग तेलंगना राज्यको मन्जुरी दिएको हो ।

बैठकपछि केन्द्रीय गृहमन्त्री सुशील कुमार शिन्देले तेलंगनामा अब १० जिल्ला हुने बताए । काँग्रेस कार्यसमितिले पनि यसअघि १० जिल्लाका साथ तेलंगना गठनको मन्जुरी दिएको थियो ।

तेलंगना भारतको २९ औं राज्य हो । आगामी दस बर्षसम्म तेलंगना र सीमान्धको राजधानी हैदरावाद रहने छ । दुबै राज्यको एक गर्भनर र दुई मुख्यमन्त्री हुनेछन् । पछि सीमान्धको राजधानी छुट्टै बनाइने छ ।

नयाँ राज्य गठनको प्रस्ताव अब राष्ट्रपतिसमक्ष पेश हुने छ । राष्ट्रपतिबाट विधानसभामा प्रस्ताव पेश हुने र फेरि मन्त्रिपरिषदमा आएपछि विधेयकको रुपमा अन्तिम स्वीकृतिकालागि संसदमा पेश गरिने छ ।

तेलंगनालाई सन् १९५६ मा आन्ध्र प्रदेशमा गाभिएको थियो । त्यसलगत्तै अलग तेलंगना राज्यको माग गर्दै आन्दोलन भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us