
काठमाण्डु, २० मंसिर– जर्नी टु वल्र्डकप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरको राष्ट्रिय क्रिकेट टिमसँग शुक्रबार प्रतिस्पर्धा गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सो प्रतियोगिता सोमबारदेखि भइरहेको छ । यसअघि भएको खेलमा नेपालले एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । नेपालले भारतको एयर इन्डिया क्लबलाई ५ विकेटले हराएको थियो भने दिल्ली वाण्डरसर्स क्लबसँग २४ रनले पराजित थियो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को प्राविधिक सहयोगमा जोरा इन्टरनेसनलले आयोजना गरेको सो प्रतियोगिता आगामी पुस महिनामा न्युजिल्याण्डमा हुने एक दिवसीय विश्वकप क्रिकेट छनोट अभ्यासका लागि आयोजना गरिएको हो ।
आगामी पुस २९ देखि माघ १८ गतेसम्म चल्ने उक्त एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ परिसकेको छ । समूह ‘ए’ मा नेपालसगै संयुक्त अरब इमिरेट्स (युएई), स्कटल्यान्ड, हङ्कङ र क्यानडा रहेका छन् भने समूह ‘बी’ मा नेदरल्यान्ड, केन्या, नामिविया, पपुवा न्यूगिनी र युगान्डा रहेका छन् ।
दुवै समूहका उत्कृष्ट तीन भित्र पर्ने टोली सुपर सिक्समा छानिने छन् भने त्यसमध्ये शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नुका साथै २०१५ मा हुने एकदिवसीय विश्व क्रिकेट प्रतियोगितामा छनोट हुने मौका पाउनेछन् ।