
चितवन, १९ मंसिर–चितवनको नारायणगढमा नमुना लिइएका सबै सुनचाँदी पसलमा गुणस्तर न्यून पाइएपछि व्यापारीहरु विरुद्ध मुद्दा चलाउने तयारी शुुरु गरिएको छ । वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागले चितवनमा कानुन अधिकृत पठाएर कारवाहीको तयारी शुरु गरेको हो । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा कानुन अधिकृत नभएकाले केन्द्रबाटै कानुन अधिकृत पठाउन लागेको विभागले जनाएको छ ।
कार्यालय प्रमुख शिवदत्त भट्टराईले विभागले प्रकृयाका लागि काजमा कानुन अधिकृत माग गरि पत्र पठाउन लगाए अनुरुप आफूले पत्र पठाइसकेको जानकारी दिए । चाँडै विभागले कानुन अधिकृत पठाउने र सरकारी वकीलको कार्यालयसँग परामर्श गरी जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने उनले बताए । सुनचाँदी पसल सन्चालकहरु विरुद्ध उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार मुद्दा चलाउने बताइएको छ ।
वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय चितवन र उपभोक्तावादी संघसंस्थाको रोहबरमा असोज २० गते नारायणगढका ६ वटा सुनचाँदी पसलमा अनुगमन गरी संकलन गरिएको नमूनामा तोकिएभन्दा कम गुणस्तर पाइएको थियो ।
विभागले बराली गहना सप्लायर्स, जगदम्बा सुनचाँदी पसल, माँ जानकी ज्वेलर्स, जय सन्तोषी माँ सुनचाँदी पसल, न्यु लोकमान एण्ड सन्स र जीवनज्योती ज्वेलर्समा अनुगमन गरेको थियो । विभागले दिएको जानकारी अनुसार अधिकांशमा २४ क्यारेट भनी बिक्री गरिएको सुन २२ क्यारेटको हाराहारीमा मात्रै पाइएको छ ।
यता सुनचाँदी ब्यवसायीले भने ढिका सुन र तयारी गहनाको गुणस्तर एउटै नहुने हुदा विभागले पुर्वाग्रही ढंगबाट कारवाही थालेको भन्दै असन्तुष्टी ब्यक्त गरेका छन् ।