
काठमाण्डु, १९ मंसिर–नेपालले आफ्नो देशमा उत्पादित गुणस्तरीय चियाको व्यापार प्रवर्द्धनमा सघाउन अन्तर्राष्ट्रिय व्यापार केन्द्रलाई आग्रह गरेको छ । अन्तर्राष्टिय व्यापार केन्द्रका कार्यकारी निर्देशक अरन्चा गोन्जावेजसँगको भेटमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले हिमाली क्षेत्रमा उत्पादित नेपालको चियाको व्यापारिक विस्तार आवश्यक भएको बताएका हुन् ।
मन्त्री कोइरालाले निर्यातकर्ताको क्षमता अभिवृद्धि गर्न केन्द्रले देखाएको सक्रियताको प्रशंसा गर्दै यसलाई शहरबाट ग्रामीण क्षेत्रमा पनि विस्तार गर्न आग्रह गरे ।
नेपालमा संविधानसभाको शान्तिपूर्ण चुनाव सम्पन्न भई आर्थिक विकासको बाटो खुलेको बताउँदै मन्त्री कोइरालाले भने, ‘अब हाम्रो एजेण्डा भनेको उत्पादनमुखी अर्थतन्त्रको विकास हो ।’
सो अवसरमा केन्द्रका निर्देशक गोन्जावेजले नेपालले राखेको मागप्रति आफूहरु सकारात्मक भएको भन्दै सहयोग गर्ने बचन दिएका थिए । उनले नेपालको पस्मिना उद्योगको विकास र व्यापार प्रवद्र्धनमा केन्द्रले गर्दै आएको सहयोगलाई निरन्तरता दिने आश्वासन समेत दिएको मन्त्री कोइरालाका प्रेस सहयोगी संकेत कोइरालाले जानकारी दिए ।