
काठमाण्डु, मंसिर १७– पूर्वअर्थमन्त्रीहरुले लगानीको वातावरण बन्न सके देश ५ बर्षमै कायापलट हुने बताउँदै लगानीको वातावरण बनाउने सामुहिक प्रतिबद्धता जनाएका छन् ।
संविधानसभा, सरकार र दलीय संरचना सबै क्षेत्रबाट देशको अर्थतन्त्रलाई प्रभावकारी ढंगले अघि बढाउने पनि उनीहरुले जनाएका छन् ।
मिडिया इन्टरनेसनलले संविधानसभामा विजयी पूर्व अर्थमन्त्रीका लागि सोमबार आयोजना गरेको स्वागत कार्यक्रममा उनीहरुले आर्थिक एजेण्डालाई प्रभावकारी ढंगले अघि सार्न सके ५ बर्षमै देश कायापलट हुने बताए ।
७ प्रतिशत मात्र वृद्धि भए उन्नतीः महत
कार्यक्रममा कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा.रामशरण महतले वार्षिक सात प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल गर्नसके देश उन्नतिको बाटोमा लाग्ने पनि बताउँदै विरोध, हड्ताल र आन्दोलनका कारण देशको अर्थतन्त्र धरासायी भएको उल्लेख गरे ।
उनले देशमा लगानीको ठूलो समस्या रहेको उल्लेख गर्दै लगानीका लागि वातावरण बनाउन स्थायी सरकार आवश्यक रहेको बताए । दलहरु संविधान बनाउनमा अघि सर्ने र संविधान सँगै देशको समृद्धितिर अघि बढ्ने अवस्था रहेको तर विभिन्न बहानामा विरोध र आन्दोलनका शैलीका कारण अर्थतन्त्रमा अझै शंकाहरु उत्पन्न भएको उनको भनाइ छ ।
अर्का पूर्व अर्थमन्त्री महेश आचार्यले दलहरुका विकासको अवधारणा र आर्थिक एजेण्डामा धेरै फरक नभएको तर व्यवहार सही नभएकाले अर्थतन्त्र अघि बढ्न नसकेको बताए ।
५ वर्षकै मुहार फेरिनेः पाण्डे
त्यसैगरी एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले दलहरुका घोषणापत्रमा समानान्तर देखिएको र आर्थिक विकास गर्नुपर्छ भन्ने सबैको धारणा रहेकोले दलहरुबीच आर्थिक एजेण्डामा सहमति भएर अघि बढे ५ बर्षमै देशको मुहार फेरिने उल्लेख गरे ।