
काठमाण्डु, १७ मंसिर– नेपाललाई ट्वान्टी–२० विश्वकपमा प्रवेश गराएर फर्केको नेपाली क्रिकेट टोलीले स्वदेश आउनासाथै अर्को सफलता हात पारेको छ ।
आइतबार साँझ मात्र स्वदेश फर्केको नेपाली टिमले सोमबार ‘जर्नी टु वल्र्डकप’को पहिलो खेलमा एयर इण्डिया क्रिकेट टिमलाई ५ विकेटले हराउँदै सफलता हात पारेको हो । ‘जर्नी टु वल्र्डकप’ आउँदो महिना न्यूजिल्याण्डमा हुन लागेको एक दिवसीय विश्वकपको तयारी स्वरुप अभ्यासका लागि गरिएको प्रतियोगिता हो ।
टस जितेर पहिले ब्याटिङ गरेको एयर इण्डियाले ४४ ओभरमै सकै विकेट गुमाएर नेपाललाई १ सय ५६ रनको लक्ष्य दिएको थियोे । किर्तिपुरस्थित त्रिवि मैदानमा भएकाे खेलमा नेपालले ५ विकेट गुमाएर १६ ओभर खेल बाँकी रहँदै सो लक्ष्य चुमेको हो । जितका लागि अविनाश कर्णले ४, सोमपाल कार्कीले ३, सागर पुनले २ र पारस खड्काले १ विकेट लिएका थिए ।
नेपाल क्रिकेट संघ–क्यानको सहयोगमा जोरा इन्टरनेशनलले आयोजना गरेको प्रतियोगितामा नेपालसहित सिंगापुरको राष्ट्रिय टिप, भारतबाट एयर इण्डियासहित वाण्डरस क्लब पनि सहभागी छन् । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।
सम्बन्धीत समाचार: सरकारले क्रिकेट खेलाडीलाई १०/१० लाख दिने