चुनावी सामान ढुवानीमा ३ करोड ३१ लाख

काठमाण्डु टुडे २०७० मंसिर १ गते १०:३७ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– निर्वाचन अयोगले अगामी निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री सुरक्षित रुपमा मतदानस्थलमा पुर्‍याउन र मतपेटिकालगायत अन्य सामग्री जिल्ला सदरमुकाम ल्याउन ढुवानीका लागि रु तीन करोड ३१ लाख निकासा गरेको  छ ।

निर्वाचनका लागि सुरक्षा प्रबन्धसहित ६८ प्रकारका निर्वाचन सामग्री लिएर  मतदानस्थलमा खटाइएका कर्मचारी पुगिसकेका निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि १० हजार १३ मतदानस्थल र १८ हजार ४५७ केन्द्र रहेका छन् । ती मतदानस्थलका लागि दुई लाख १५ हजार कर्मचारी र सोही सङ्ख्यामा सुरक्षा निकाय परिचालन भएका छन् ।

आयोगका सहसचिव महेश्वर न्यौपानेले निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री मतदानस्थलमा पुर्‍याउन र मतपेटिकालगायत अन्य सामग्री जिल्ला सदरमुकाम ल्याउनका लागि हालसम्म रु तीन करोड ३१ लाख रकम निकासा भएको जानकारी दिए । उनले उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङलगायतका जिल्लाका सबै मतदानस्थलमा आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारी एवम् सुरक्षा निकाय पुगिसकेको जानकारी दिए ।

मतदान सकिएलगत्तै मतपेटिका, खटिएका कर्मचारीलाई सुरक्षित रुपमा मतगणनास्थलसम्म ल्याउन भौगोलिक अवस्थाअनुरुप ढुवानीका साधन प्रयोग गरिएको सहसचिव न्यौपानेले जानकारी दिए । सरकारले निर्वाचनमा खटिएका कर्मचारीका लागि रु १५ लाख बराबरको बिमाको व्यवस्था गरेको छ । दुर्घटना भएमा तुरुन्त उद्धार गरी उपचारको प्रबन्धसमेत मिलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us