बहिष्कारले माओवादीलाई नै घाटाः भारतीय नेता

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते ९:०७ मा प्रकाशित

काठमाण्डु, २३ कात्तिक– भारतीय समाजवादी फ्रन्टका राष्ट्रिय संयोजक विजय प्रतापले बहिस्कारले नेकपा–माओवादी आफैलाई घाटा हुने बताएका छन् । उनले भने, ‘यत्रो ठूलो शक्ति सकियो भने त्यसले नेपाली समाजको लागि समेत राम्रो गर्दैन । त्यसैले बहिष्कारले माओवादीलाई घाटा पुग्छ ।’

लोकतन्त्रमा निर्वाचन हुनु आफैमा ठूलो घटना र उपलब्धि भएकोले दलहरुलाई एक अर्काको आलोचना गर्नुभन्दा पनि आफूहरुले गरेको राम्रो कामलाई जनतामाझ प्रस्तुत गर्न संयोजक प्रतापले सुझाव दिए । काठमाण्डुमा आयोजित साक्षात्कारमा उनले भने, ‘लोकतन्त्रको लडाईं विचारको लडाई मात्र हो, त्यस्तो मात्रै हुनु पर्छ ।’

नेपालमा आगामी मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनबाट जुन पार्टीले बहुमत ल्याए पनि लोकतान्त्रिक संविधान निर्माण र मुलुकको विकासका लागि सबै सम्मिलित साझा सरकार बन्नु पर्ने उनले धारणा राखेका छन् । प्रतापले नेपालको नागरिक समाजले कुनै पनि दल बाहिर नरहने गरी साझा सरकार निर्माणमा भूमिका खेल्नु पर्नेमा समेत जोड दिए ।

भारत र नेपालको लोकतान्त्रिक आन्दोलनमा एक अर्काको भूमिका रहेकोले नेपालको चुनावले भारत र दक्षिण एसियाको स्थायित्वमा समेत महत्वपूर्ण भूमिका हुने विश्वास उनले व्यक्त गरे । नेपालको पहिलो संविधानसभा सबैको प्रतिनिधित्व भएको संसारकै उत्कृष्ट संविधानसभा भएकोले पनि आफूहरुले त्यसबाट विगतमा बढि नै अपेक्षा गरेको समेत स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us