
हेटौँडा, २२ कात्तिक– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रमा प्रमुख राजनीतिक दलका नेताहरुको परिपक्क कूटनीतिक क्षमता अभावका कारणले बाह्य शक्तिले नेपाली–नेपालीबीच फुट र विखण्डन ल्याउन खोजेको दाबी गरेका छन् ।
अध्यक्ष थापाले भने, ‘प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वमा रहेका नेताहरुका कारण नेपाली नेपालीबीच फुट देखिएको हो । परिपक्क कुटनीतिक क्षमता नभएका उनीहरुका कारण बाह्य शक्तिहरुले विखण्डन ल्याउन प्रयास गरिरहेको छ ।’
राप्रपा नेपालको मकवानपुरमा आयोजित चुनावी सभा बोल्दै उनले हिन्दूहरुलाई प्रमुख दलहरुले उपेक्षा गर्न नहुने जिकिर गरेका हुन् । नयाँ बन्ने संविधानमा राजासहितको संसदीय प्रजातन्त्रलाई सुदृढीकरण गर्ने अभियानमा राप्रपा नेपालले संसदमा सशक्त भूमिका खेल्ने बताउँदै नयाँ बन्ने संविधानमा हिन्दूहरुको भावनालाई पनि समेट्नुपर्ने उनले जिकिर गरे ।