चितवन बन्द फिर्ता

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते ३:०१ मा प्रकाशित

चितवन, २२ कात्तिक–कार्यकर्ता पक्राउको विरोधमा नेकपा–माओवादीले शुक्रबारका लागि आह्वान गरेको चितवन बन्द फिर्ता लिएको छ । एकीकृत नेकपा माओवादीका नेता तथा चितवन क्षेत्र नं. ५ का उम्मेदवार अमिक शेरचन चढ्ने गाडीमा आक्रमण गरेको अभियोगमा चितवन प्रहरीले नेकपा–माओवादीका ५ नं. क्षेत्रीय इन्चार्ज टङ्क रेग्मी गोर्खालीलाई पक्राउ गरेको भन्दै सो पार्टीले बन्द आह्वान गरेको थियो । तर, राति नै प्रहरीले रेग्मीलाई रिहा गरेको भन्दै नेकपा–माओवादीले बन्द फिर्ता लिएको जनाएको छ ।

नेकपा–माओवादीका अर्का क्षेत्रीय इन्चार्ज नारायण शर्माले कार्यकर्ता छाडेकाले बन्द फिर्ता लिएको बताए ।

नेता शेरचनले प्रयोग गर्दै आएको बा ९ च ७६६७ नम्बरको स्कारपियो गाडीमा दुई दिनअघि अज्ञात समूहले आक्रमण गरेको थियो । सो घटनामा नेकपा–माओवादीको संलग्नता हुनसक्ने भएकाले सोधपुछका लागि गोर्खालीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us