
काठमाण्डु, १९ कात्तिक–मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचनको विपक्षमा लागेका दलहरुलाई मंसिर चारभित्र जनताले किनारा लगाउने चेतावनी दिएका छन् । उनले आगामी संविधानसभा निर्वाचन कुनै पनि तागतले रोक्न नसक्नेसमेत दावी गरे ।
एकदुई दलले भाग नलिदैमा निर्वाचनमा कुनै असर नपर्ने भन्दै रेग्मीले नब्बे प्रतिशत नेपाली जनता निर्वाचनको पक्षमा रहेको सफल हुने विश्वास व्यक्त गरे ।
‘निर्वाचन कुनै पनि अवस्थामा तलमाथि हुन्छ भन्ने नसम्झिए हुन्छ, यो अवस्यम्भावी छ,’ काठमाण्डुको धापासीमा मंगलबार सन्चारकर्मीसँग कुरा गर्दै रेग्मीले भने, ‘नब्बे प्रतिशत जनताले चाहेको कुरा केही दल र व्यक्तिको फरक धारणा रहनु स्वाभाविक हो । तर, सम्पूर्ण जनसमुदाय निर्वाचनको पक्षमा छ ।’
रेग्मीले आगामी चुनाव सफल भएर नयाँ संविधान जारी भए त्यही नै राष्ट्रिय पर्व हुने धारणा पनि राखे । निर्वाचनबाट मात्र देशले निकास पाउने भन्दै रेग्मीले जसरी भए पनि निर्वाचन सफल पारी छाड्ने अठोट व्यक्त गरेका थिए ।
बहिनीहरुको हातबाट तिहारको टीका लगाउन रेग्मी धापासी पुगेका थिए । उनले बहिनीहरु राधा, शान्ता र इन्दूको हातबाट टिका लगाएका थिए ।