सडक निर्माण तीव्र गर्न रेग्मीको निर्देशन, १६ किलोमिटर मंसिरभित्रै

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते १३:३१ मा प्रकाशित

khilrajकाठमाण्डु, १४ कात्तिक– मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले काठमाण्डुमा विस्तारित सडक निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन उच्च सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

उनले सम्बद्ध मन्त्री, सचिव र उच्च पदस्थ पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विहिबार भएको बैठकमा सो निर्देशन दिर्एका हुन् । बैठकमा उक्त कार्यालयका सचिव एवम् काठमाण्डु विस्तारित सडक अनुगमन उच्चस्तरीय समितिका संयोजक कृष्णहरि बाँस्कोटाले आगामी मङ्सिर मसान्तसम्ममा विस्तारित सडकमध्ये थप १६ किलोमिटर कालोपत्र सम्पन्न गर्ने लक्ष्य निर्धारणका साथ काम भइरहेको जानकारी दिए ।

सचिव बाँस्कोटाका अनुसार सो अवधिमा काठमाण्डु उपत्यका सडक विस्तार आयोजनाले माइतीघर–तीनकुने सडकमा एक किलोमिटर ग्राभेल, एक किलोमिटर ९०० मिटर फुटपाथ र दुई किलोमिटर १५० मिटर कालोपत्र गर्नेछ । त्यसैगरी कालीमाटी–टियु गेट सडकमा ३०० मिटर ग्राभेल र एक हजार २८० मिटर कालोपत्र गरिने छ ।

लैनचौर–गल्फुटार सडकमा एक हजार ८०० मिटर ग्राभेल, ८५० मिटर फुटपाथ र दुई हजार ५०० मिटर कालोपत्र गर्ने, गौशाला–शङ्खमुल सडकमा १०० मिटर ग्राभेल, १०० मिटर फुटपाथ र दुई हजार ३०० मिटर कालोपत्र गरिने जानकारी अध्यक्ष रेग्मीलाई गराएका थिए ।

सचिव बाँस्कोटाका अनुसार काठमाण्डु उपत्यका विकास प्राधिकरणअन्तर्गत काठमाण्डु उपत्यका विकास प्राधिकरणले थप ६ किलोमिटर र ललितपुर जिल्ला आयुक्तको कार्यालयले डेढ किलोमिटर सडक विस्तार गर्नेछन् भने काठमाण्डु उपत्यका खानेपानी लिमिटेडले ‘लिक’ मर्मत गर्नेछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us