एमाले कार्यकर्ता कुटिए

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते ४:२६ मा प्रकाशित

बागलुङ, १२ कात्तिक– बाग्लुङको धुल्लुबास्कोटमा जनमोर्चाका कार्यकर्ताहरुले नेकपा एमालेका कार्यकर्ताहरुलाई कुटपीट गरेका छन् । आफ्नै घरमा सुतिरहेकोबेला एमाले जिल्ला सदस्य बालिका केसी, उनकी आमा पर्वती, बुवा पूर्ण र दाइका छोरा जीवनलाई जनमोर्चाका कार्यकर्ताले कुटपिट गरी घाइते बनाएको एमालेले जनाएको छ ।

घाइतेहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले जानकारीदिए । जनमोर्चाले हारको मानसिकताबाट आफ्ना कार्यकर्तालाई आक्रमण गरेको उनले आरोपसमेत लगाए ।

काँग्रेसको प्रचारमा हिँडेको गाडी दुर्घटनामा

यसैबीच निर्वाचन प्रचारका लागि नेपाली काँग्रेस बागलुङले प्रयोग गरेको जिप सोमबार धम्जा–२ असौजेमा दुर्घटना हुँदा नौं जना घाइते भएका छन् । धम्जा गाविसमा आयोजित नेपाली काँग्रेसको घरदैलो अभियानमा जाँदै गर्दा ग १ ज २४६६ नं.को जिप ब्रेक फेल भएर दुर्घटनामा परेको नेपाली काँग्रेस क्षेत्र नं १ को सम्पर्क कार्यालयले जनाएको छ ।

धौलागिरि अञ्चल अस्पताल बागलुङमा प्राथमिक उपचारपछि क्षेत्रीय उपसभापति चन्द्रप्रकाश सापकोटा, क्षेत्रीय सदस्य यामदत्त कँडेल, पशुपति सापकोटा, क्षेत्रीय सल्लाहकार फणीन्द्र गौतम, शिवलाल उपाध्याय, नेपाली काँग्रेस धम्जाका सचिव रामनारायण निउरे र वीरेन्द्र भण्डारीलाई थप उपचारका लागि पोखरा पठाइएको छ । स्ववियु सचिव खडक थापा र सदस्य अर्जुन कँडेल भने प्राथमिक उपचारपछि घर फर्किएको धौलागिरि अञ्चल अस्पताल बागलुङले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us