
तातोपानी ११ कात्तिक–तिहारको सामान आयातका लागि उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी पुगेका सयौँ नेपाली माल बाहक कन्टेनर भ्यान चार दिन देखि अलपत्र परेका छन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या आएको भन्दै चिनियाँ पक्षले प्रवेश गर्न नदिएपछि भ्यान अलपत्र परेका हुन ।
नेपाल ट्रक कन्टेनर ब्यवसायी संघका वरिष्ठ उपाध्यक्ष निम फुञ्जो शेर्पाका अनुसार खासा प्रवेश गर्ने भ्यानहरुको विद्युतीय मेसिनबाट दर्ता गरिदै आइएको छ । विद्युत् आपूर्तीमा समस्या आएको जनाउँदै चिनियाँ पक्षले कुनै पनि भ्यानहरुको दर्ता गर्न नमानेको शेर्पाले बताए । भ्यान प्रवेश गर्न नपाएपछि खासा क्षेत्र पुगेर नेपाली ब्यापारीहरुले खरिद गरेका स्याउ कुहिने अवस्थामा पुगेको नेपाल हिमालय सिमापार वाणिज्य संघले जनाएको छ ।
संघका अनुसार सामान लिन गएका भ्यानहरुलाई खासा प्रवेश गर्न नदिएपछि तिहारको सामान नेपाली बजारमा आउन समस्या हुनेछ । ‘क्रिसमस लाइट’ का नाममा आयात हुने चिनियाँ झिलिमिली बत्ती नेपाली बजारमा ९९ प्रतिशत बिक्रि हुने गरेकोे छ । डलर महँगो हुनु र समयमै बजारमा सामान नआपुग्नाले नेपाली उपभोक्ताहरुले तिहारको सामानको महँगो शुल्क तिर्नुपर्ने अवस्था आउन सक्ने नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष निलकण्ठ चौलागाईले बताए ।