काठमाण्डू, १४ असार– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरु बीच तत्कालै सहकार्य थालिहाल्नुपर्ने बताएका छन ।
सहकार्यमा ढिलाइ गरेको खण्डमा देशमा भयानक दुर्घटनामा जान सक्ने पनि बताएका छन । आज (आइतबार) एमालेका दिवंगत महासचिव मदन भण्डारीको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन । उनले भारतमा जस्तै नेपालमा पनि कम्युनिष्टलाई सिध्याउने प्रयास भएको पनि बताएका छन ।
प्रचण्डले भने, ‘नेपालमा कम्युनिष्ट आन्दोलनलाई के गरी सिध्याउने भन्ने प्रयास भइरहेको छ । भारतमा कम्युनिष्ट सिध्याइयो भनेर घोषणा गरेको सुनेका छौँ ।
नेपालमा पनि के गरी सिध्याउन सकिन्छ भनेर प्रतिक्रियावादी लागिरहेका छन् । यही षडयन्त्रको परिणतिका रुपमा भदौ २४ भयो, चुनाव भयो, अहिले जे भइरहेको छ हामीले देखेका छौ । त्यसैले यसलाई रोक्न राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंशुकताका विरुद्ध, फासिज्मका विरुद्ध, वैदेशिक दबाबका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ । ढिला गर्नुहुँदैन ।
नत्र भयानक दुर्घटना हुन्छ ।’ उनले आफूले आजै, अहिल्यै कम्युनिष्टहरुबीच एकताको कुरा नगरेको पनि बताएका छन । उनले थपे, ‘मैले भोलि नै, आज बेलुकै पार्टी एकता गरौं भनेको छैन । सहकार्य गर्न सकिन्छ भने आजै गरौं भनेको हो । भरे सकिन्छ भने भरे गरौं ।
संसदमा, सडकमा, चुनावमा गरौं । सहकार्य गर्न जति ढिलो गर्यो त्यति भयानक दुर्घटना हुने वालाछ । सहकार्यका लागि ढिला गर्ने मनसाय राख्नु पनि दुर्भाग्यपूर्ण हुन्छ ।’