सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्रीः ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

काठमाण्डु टुडे २०८३ जेठ १७ गते १४:२२ मा प्रकाशित

काठमाण्डू, १७ जेठ– प्रधानमन्त्री बालेन शाहले काठमाण्डू उपत्यकाका सुकुमवासीको समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरेका छन ।

आज (आइबतार) आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन । उनले आफ्नो पार्टी र सत्तारुढ दल रास्वपाले सुकुमवासीको समस्या समाधान र उचित व्यवस्थापन गर्ने जिकिर गरे ।

प्रधानमन्त्री बालेनले भने, ‘म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई भनेको के थियो भने, उहाँहरूलाई त्यहाँबाट स्थानान्तरण गरेर, होल्डिङ सेन्टरमा राखेर जो सहि सुकुमवासी हुनुहुन्छ, जसको देशैभरी जग्गा पनि छैन, उहाँहरूलाई जग्गाको व्यवस्थापन सरकारले गर्नुपर्छ ।’

उनले ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोज्न पनि आग्रह समेत गरेका छन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि बजेट सार्वजनिक गर्दा यही आर्थिक वर्षभित्र व्यवस्थापन गर्नेगरी काम हुने समेत बताएका छन । ‘उहाँहरू (सुकुमवास) को ज्यान जोखिममा थियो ।

ज्यान जोखिममा पर्नबाट सरकारले जोगाउने काम गरेको हो । जहाँसम्म जग्गा व्यवस्थापन गर्ने कुरा छ, भूमिसम्बन्धी समिति पनि बनेको छ ।

हाम्रो मन्त्रालयले काम गरिरहेको छ,’ प्रधानमन्त्री शाहले भने, ‘अस्ति अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र काम गर्छौं भन्नुभएको छ । जति समय लाग्छ, त्यो लाग्छ । हतार गरेर हुँदैन । ३५ वर्षमा नभएको चिज ३५ मिनेटमै नखोजौं । केही समय लाग्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us