गरिब मास्ने र धनी पोस्ने गरी बजेट ल्याइयोः गगन थापा

काठमाण्डु टुडे २०८३ जेठ १६ गते १८:०४ मा प्रकाशित

काठमाण्डू, १६ जेठ– कांग्रेस सभापति गगनकुमार थापाले सरकारले गरिब र न्यून आय भएका जनतालाई उपेक्षा गरेर बजेट ल्याएको आरोप लगाएका छन् ।

नेपाल थारु संघको प्रथम अधिवेशलाई सम्बोधन गर्दै थापाले न्यून आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्ने गरी बजेट नआएको बताए । यद्यपि केही संरचनागत र नीतिगत सुधारका योजना भने अघि सारेको उनको भनाइ थियो ।

थापाले बजेटमा कांग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका कतिपय विषय समेटिनुलाई सकारात्मक भने । राम्रो कामका लागि सरकारलाई सहयोग गर्ने र गलत भए प्रश्न उठाउने थापाले उल्लेख गरे ।

‘सरकारले गरिबी हटाउँछु भन्नुपर्ने ठाउँमा त्यो गरेको छैन’, थापाले भने, ‘गरिबी हटाउनेतिर लागेको छैन गरिब मास्न तिर लागेको छ । गरिबी हटाउने होइन, गरिब मास्ने कुराले सोचले कहिल्यै पनि गरिबी सकिँदैन ।’

भूमिहीन र सुकुम्बासीमाथि राज्यले गरेको व्यवहारले गरिबी हटाउने नभई गरिबलाई हटाइदिन्छु भन्ने चरित्र प्रकट भएको आरोप थापाले लगाए । ‘मेरो अगाडि जो गरिब पर्छ भने त्यसलाई मास्दिन्छु, हटाइदिन्छु भनेपछि गरिबी हट्छ भन्ने गलत सोचबाट सरकार ग्रसित छ’, थापाले भने ।

आर्थिक मन्दीबाट सबैभन्दा बढी पिल्सिएका न्यून आय भएका मानिसको भान्सा चल्नै गाह्रो भएको उनले बताए ।

केटाकेटीलाई पढाउन र विद्यालयको शुल्क तिर्न र अस्पतालमा गएर पैसा तिर्न गाह्रो भएका गरिब वर्गप्रति राज्य उदाशीन भएको आरोप थापाले लगाए ।

तर, धेरै कमाउनेहरुका लागि भने अनेक सुविधा बजेटमा दिइएको टिप्पणी गरे । थापाले गलतलाई गलत भन्दा गाली खाइएला भन्ने चिन्ताले तर्सिएर भाग्न नहुने उल्लेख गरे ।

सरकार संविधान मास्न, राज्यको स्रोत र साधन कुनै एउटा पक्षलाई पोस्न उद्धत भए काँग्रेस उभिने स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us