काठमाण्डू, १५ जेठ– प्रमुख प्रतिपक्षी पाली कांग्रेसले मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ ।
काँग्रेस सचेतक निश्कल राईले प्रतिनिधिसभा बैठकमा शुक्रबार राईले आयोगले २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा घटेका घटनामा दोषी किटान गरेकाहरुमाथि कारबाहीको माग गरे ।
आयोगले दोषी किटान गरेका सांसद तथा अन्य व्यक्ति र निकायमाथि विधिसम्मत कारबाहीको प्रक्रिया अघि बढाउन उनको माग थियो ।
आयोगले सभापति रवि लामिछानेसहित राष्ट्रिय स्वतन्त्र पार्टीका १७ सांसदमाथि अनुसनधान गर्न सिफारिस गरेको थियो ।
राईले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको भन्ने आफूहरुको धारणा मानव अधिकार आयोगको प्रतिवेदनले सही साबित गरेको बताए ।
जेनजी आन्दोलनको प्रारम्भिक चरण संविधानप्रदत्त अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहे पनि त्यसपछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक घुसपैठ भएको, सरकारी र निजी सम्पत्तिमाथि ध्वंस मच्चाइएको, आगजनी, हत्या, लुटपाट र अराजक गतिविधि भएको तथा ती गतिविधिमा संलग्न भएको आशङ्कामा राज्यका जिम्मेवार व्यक्ति तथा सत्तामा रहेका सांसदहरूलाई समेत थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने तथ्य प्रतिवेदनमा औँल्याइएको उनले उल्लेख गरे ।
राईले रास्वपा सभापति लामिछाने नक्खु कारागारबाट भागेपछि २८ वटा कारागार र नौ वटा सुधारगृहमा ब्यापक तोडफोड भएको तथा जेलबाट भागेका कैदीबन्दी हत्याका घटनामा संलग्न भएको औंल्याए ।