काठमाण्डू, १५ जेठ– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकको वितृष्णलाई व्यवस्थाको असफलतासँग जोडेर नहेर्न अनुरोध गरेका छन । आज (शुक्रबार) गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन ।
उनले राजनीतिक परिवर्तनका क्रममा देखिएका कमी–कमजोरीलाई व्यवस्थाको असफलतासँग जोडेर गणतन्त्रविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको समेत बताएका छन ।
मुख्यमन्त्री कँडेलले शुभकामना सन्देशमा भनेका छन, ‘नागरिकको वितृष्णा, टिका–टिप्पणी र कमीकमजोरीहरूलाई व्यवस्थाको असफलतासँग जोड्दै कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्काउन खोज्ने असंवैधानिक कदमहरू नेपाली जनताले स्वीकार गर्दैनन् र इतिहासको गति अब पछाडि फर्किंदैन ।’
उनले कुनै पनि शासन प्रणालीलाई संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने समेत बताएका छन । उनले भने, ‘प्रणाली विकासका क्रममा कमी कमजोरीहरू देखा पर्न पनि सक्छन् ।
नागरिकका आशातीत अपेक्षा पुरा नहुँदा कहीँ कतै निराशाका स्वरहरू सुनिन सक्छन्’ मुख्यमन्त्री कँडेलले शुभकामना सन्देशमा भनेका छन्, ‘त्यसलाई हामीले स्वाभाविक ठानेर, हाम्रा कतिपय कार्यशैली, व्यवहार र आचरणहरू सुधार गर्न सक्नुपर्दछ ।’
कँडेलले संविधानअनुसार राज्य संयन्त्रमा भएका परिवर्तनको अनुभूति जनताले गर्न सक्ने गरी कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
‘जनतालाई केन्द्रबिन्दुमा राखेर जनताको इच्छा र जनताका लागि सञ्चालित हुने अभ्यासले नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ,’ उनले सन्देशमा उल्लेख गरेका छन् ।