काठमाडौं — गणतन्त्र दिवस–२०८३ का अवसरमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना सन्देश जारी गर्दै संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।
सन्देशमा उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यो व्यवस्था कुनै व्यक्ति वा दलको नभई सम्पूर्ण नेपाली जनताको साझा जित भएको बताएका छन् ।
प्रचण्डले संविधानको मूल मर्मबाट विचलित हुने वा यसका मूल्य–मान्यतामाथि सम्झौता गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारेका छन्। उनले संविधान कार्यान्वयनमा देखिएका कमजोरीहरू सुधार गर्दै राज्य सञ्चालनमा रहेका परम्परागत सोच र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता भएको उल्लेख गरेका छन् ।
उनका अनुसार जनअधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु गणतन्त्रप्रतिको साँचो सम्मान हो ।
गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र नै हो भन्दै उनले समावेशी र समानुपातिक व्यवस्थालाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
सन्देशमा देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र नागरिकबीच एकता आवश्यक रहेको उल्लेख गरिएको छ ।
प्रचण्डले राजनीतिक मतभेद भए पनि राष्ट्रिय सरोकारका विषयमा संवाद र सहकार्य संस्कार बन्नुपर्ने बताउँदै संविधान र गणतन्त्रको संरक्षणमा सबै एकजुट हुन आह्वान गरेका छन् ।
गणतन्त्र दिवस–२०८३ को अवसरमा उनले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना समेत व्यक्त गरेका छन् ।