काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले व्यवस्थाको संरक्षण गर्न सके मात्र जनताले अवस्था परिवर्तनको अवसर पाउने बताएका छन् ।
१९ औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबीचको भिन्नता तत्काल होइन, जीवन अनुभवका आधारमा क्रमशः स्पष्ट हुँदै जाने बताएका छन् ।
ओलीले गणतन्त्र प्राप्तिका लागि भएको लामो सङ्घर्ष र बलिदान स्मरण गर्दै बोल्ने, लेख्ने, संगठित हुने र राजनीतिक विचार राख्ने अधिकारका लागि हजारौँले जीवन उत्सर्ग गर्नुपरेको उल्लेख गरेका छन् ।
उनका अनुसार गणतन्त्रले हुकुमी शासन अन्त्य गर्दै कानुनमा आधारित शासन प्रणाली स्थापना गरेको छ । यस अवधिमा सामाजिक तथा भौतिक विकासमा उल्लेखनीय प्रगति भएको पनि उनले दाबी गरेका छन् ।
स्थानीय सरकारको विस्तार, विभिन्न समुदायको प्रतिनिधित्व वृद्धि, खुला अभिव्यक्ति, डिजिटल पहुँच र पूर्वाधार विकासलाई उनले गणतन्त्रका महत्वपूर्ण उपलब्धि भनेका छन् ।
यद्यपि परिवर्तनको गति अपेक्षाअनुसार नबढेको स्वीकार गर्दै उनले लोकतान्त्रिक संरचना र संस्कार बलियो बनाउन समय लाग्ने बताएका छन् ।
निराशाबाट लाभ उठाउँदै लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाउने प्रयासले प्रणाली कमजोर हुने र अधिनायकवादको जोखिम बढ्ने चेतावनीसमेत उनले दिएका छन् ।
संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको रक्षा नै गणतन्त्रको रक्षा भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थाको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।