काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
गणतन्त्र दिवस, २०८३ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले गणतन्त्र जनताको शासन प्रणाली भएकाले जनप्रतिनिधिले जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्ने उल्लेख गरेका छन् ।
संविधानले दिएको अधिकार र कर्तव्यलाई आत्मसात् गर्न सके मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ र जीवन्त बन्ने उनको भनाइ छ ।
गणतन्त्र दिवस उत्सवमात्र नभई आत्ममूल्याङ्कनको अवसर पनि भएको उल्लेख गर्दै उनले जनअपेक्षाअनुसार संवेदनशील शासन प्रणाली निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।
वञ्चित र उपेक्षित समुदायको सक्रिय सहभागिताबिना गणतन्त्र बलियो हुन नसक्ने उनको भनाइ छ ।
उपराष्ट्रपति यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नेपाली जनताको दीर्घ सङ्घर्ष, जनआन्दोलन, मधेस जनविद्रोह र सहिदहरूको बलिदानबाट स्थापित भएको उल्लेख गरेका छन् ।
उनले महान् सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गणतन्त्रका उपलब्धिलाई कमजोर पार्ने प्रयास लोकतन्त्र र सङ्घीयताविरुद्ध हुने बताएका छन् ।
उनले नेपालको गौरवशाली परम्परा, सांस्कृतिक विविधता र राष्ट्रिय उपलब्धिलाई उजागर गर्ने अवसरका रूपमा गणतन्त्र दिवस मनाउन आग्रह गर्दै राष्ट्रिय एकता र अखण्डतालाई थप सबल बनाउन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।