समितिले लियो सुधन गुरुङसँग बयान, छानबिन अन्तिम चरणमा

काठमाण्डु टुडे २०८३ जेठ १३ गते १८:१४ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले उनीसँग बयान लिएको । समितिले हिजो ( मंगलबार) र आज (बुधबार) गरी दुई दिन गुरुङसँग बयान लिएको हो ।

समिति स्रोतले गुरुङसँग बयान लिएको पुष्टि गरेको छ । ‘हामीले बयान लिइसकेका छौं । आवश्यक पर्‍यो भने फेरि बोलाउनसक्ने अवस्था छँदैछ’, समिति स्रोतले भन्यो ।’

बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ । मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।

समितिले गुरुङसँग बयान लिएसँगै छानबिन अन्तिम चरणमा पुगेको बताएको छ । केही दिनमै प्रतिवेदन बुझाउने तयारी भइरहेको समिति स्रोतले जानकारी दिएको छ । अहिले प्रतिवेदन लेखन कार्य चलिरहेको र त्यसलाई अन्तिम रूप दिएर सरकारलाई बुझाइने भनिएको छ ।

समितिलाई दिइएको १५ दिनको समय सकिन लागेकाले प्रतिवेदनको हतारो रहेको समितिले जनाएको छ । यसअघि समितिका अध्यक्ष भण्डारीले स्पष्ट किटान गरेर प्रतिवेदन बुझाइने  बताएका थिए । दोषी, निर्दोष जे भए पनि प्रमाणले पुष्टि गरेर स्पष्ट किटान गरेर प्रतिवेदन बुझाइने उनको दाबी थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us