काठमाण्डू, १३ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की माथि नै छानबिन सिफारिस गरेको छ ।
गत २३ र २४ भदौमा भएको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा कार्कीको संलग्नता रहेरनरहेको तथा उनको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परेरनपरेको विषयमा छानबिन गर्न आयोगले सिफारिस गरेको हो ।
सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम उनीलगायत व्यक्तिहरुबाट भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न सिफारिस गर्ने निर्णय आयोगले गरेको हो । जेनजी आन्दोलनका क्रममा कार्कीले सामाजिक सञ्जालहरूमा भड्काउ अभिव्यक्ति दिएको भन्दै विरोध भएको थियो ।
सरकारले उनै कार्कीलाई छानबिन आयोगको अध्यक्ष नियुक्त गरेको थियो । आयोगले २३ भदौका घटनाको मात्रै छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो ।