पूँजीगत खर्च उल्लेख्य बढ्न सकेन: अर्थमन्त्री वाग्ले

काठमाण्डु टुडे २०८३ जेठ १३ गते १४:०२ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आवको तेस्रो त्रैमासिक अवधिसम्म पूँजीगत खर्च उल्लेख्य बढ्न नसकेको बताएका छन ।

आर्थिक सर्वेक्षण २०८२–८३ सांसदमा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन । उनले अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी गराएका छन् ।

यसबीचमा विश्व परिवेशमै आर्थिक वृद्धिदर खुम्चिने तथ्य प्रस्तुत गर्दै नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत बराबर हुने उनले बताएका छन । अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने विषय समेत उनले उल्लेख गरे । यस अवधिमा राजस्व संकलनमा सुधार भएको उनले बताएका छन ।

यस सर्वेक्षणले औंल्याएका विषय बजेटमार्फत सम्बोधन गरिने अर्थमन्त्री वाग्लेले बताए । विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित हुने अनुमान रहेको पनि उनले बताएका छन ।

वाग्लेका अनुसार नेपालको उपभोक्ता मुद्रास्फीति ६ प्रतिशत माथि रहने छ । नेपालमा बागमती र गण्डकी प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा तल रहने उनले बताएका छन ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २४ प्रतिशत र गैरकृषि क्षेत्रले ७६ प्रतिशत योगदान गर्ने जानकारी अर्थमन्त्रीले गराए । यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय र सेवा क्षेत्रको योगदान क्रमशः २४.४६, १३.७३ र ६१.८१ प्रतिशत रहने देखिएको छ ।

फागुनसम्म ४ हजार १०५ मेगावाट विद्युत् उत्पादन क्षमता पुगेको बताउँदै उनले ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us