काठमाण्डू, १३ जेठ– वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (सहायक कामदार) का लागि २ हजार ३ सय जना नेपाली श्रमिक माग गरेको छ ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न नेपाली श्रमिक छनोटका लागि आवेदन खुलाइएको विभागले जानकारी दिएको छ ।
विभागले सार्वजनिक गरेको सूचनाअनुसार माग गरिएको कुल संख्यामध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कोटा छुट्याइएको छ । छनोट भएका कामदारले इजरायलमा मासिक ६ हजार ४ सय ४३.८५ इजरायली सेकेल (करिब ३ लाख ४७ हजार रुपैयाँ) बराबर तलब पाउने बताइएको छ ।
यसबाहेक ओभरटाइम, वार्षिक बिदा, खाना तथा बसोबाससम्बन्धी सुविधा पनि उपलब्ध हुने जनाइएको छ । सूचनाअनुसार करार अवधि एक वर्षको हुनेछ भने आवश्यकता अनुसार थप गर्न सकिनेछ ।
आवेदन दिन चाहने नेपाली नागरिकको उमेर २५ देखि ४५ वर्षभित्र हुनुपर्नेछ । आवेदक कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल पुगेको हुनुपर्ने तथा सम्बन्धित क्षेत्रमा तालिम वा अनुभव आवश्यक पर्ने उल्लेख गरिएको छ ।