काठमाण्डू, १३ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले सभामुख र सांसदहरु बस्ने कुर्सी कुन देशबाट आयात गरेको काठबाट बनेको हो भनेर प्रश्न गरेकी छन् ।
आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसबारे प्रश्न गरेकी हुन । उनले अघिल्लो कार्यकालदेखि नै आफूले यो प्रश्नको उत्तर खोजिरहेको जानकारी गराउँदै आजको प्रतिनिधि सभा बैठकमा प्रश्न गरिन् ‘दुई–तीन पछि हामी नयाँ संसद जाँदैछौं र उक्त सदनमा सम्माननीय सभामुख र हामी सांसदहरु बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो ?’
नेपालका काठको सदुपयोग नभएको तर विदेशबाट काठ आयात भइरहेको प्रसंग उठाउँदै उनले सो प्रश्न गरेकी हुन् । काठमाथिको परनिर्भरता बन्द हुनुपर्ने बताउँदै उनले नेपाली काठबाट बनेका फर्निचर प्रयोगको सुरुवात संसद भवन र सिंहदरबारबाटै गर्न सरकारको ध्यानाकर्षण समेत गराएकी छन ।
महालेखा परीक्षकको ६१ औं प्रतिवेदन उद्धृत गर्दै उनले नेपालको काठको सदुपयोग नहुँदा वार्षिक अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भइरहेको जानकारी गराइन् ।
सरकारको नीतिमा प्रश्न उठाउँदै उनले भनिन्, ‘आज स्वदेशी काठ निकाल्न फाइल रोकिन्छ तर विदेशी काठ भित्राउन सजिलैसँग एलसी खुल्ने गर्छ, यो कस्तो किसिमको नीति हो ?’
उनले जोड दिँदै भनिन्, ‘मैले सबै वन फँडानी गर्नुपर्छ भन्न नखोजेको होइन तर हामीसँग भएको धनको सही सदुपयोग पक्कै पनि गर्नैपर्छ ।’