काठमाण्डू, १२ जेठ– काठमाण्डूको गोकर्णेश्वर नगरपालिकाका ३ वटा वडामा घातक मानिने ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) भेटिएको छ । गोकर्णेश्वर नगरपालिकाको वडा नं. २, ३ र ४ मा बर्डफ्लुको सङ्क्रमण देखिएसँगै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।
नगरपालिकाले यसको नियन्त्रण र रोकथामका लागि विशेष अभियान सुरु गरेको जानकारी दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण मौलीले रोग पुष्टि भएका क्षेत्रहरूमा रहेका सम्पूर्ण हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पंक्षीहरू तथा तिनका अन्डा र दानालाई पूर्णरूपमा नष्ट गर्ने कार्य भइरहेको जानकारी दिए । रोग अन्य क्षेत्रमा फैलिन नदिनका लागि प्रभावित क्षेत्रमा सुरक्षित तवरले पंक्षीहरूको विसर्जन (डिस्पोज) गरी निसंक्रमणको कार्यलाई तीव्रता दिइएको छ ।
बर्डफ्लु पंक्षीहरूबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिमयुक्त ‘जुनोटिक’ रोग भएकाले नगरपालिकाले सर्वसाधारण र फार्म सञ्चालकहरूका लागि निर्देशनहरू जारी गरिएको छ । नगरपालिकाले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशलाई पूर्णतः निषेध गर्न र प्रवेश गराउनै पर्ने अवस्थामा अनिवार्य रूपमा निसंक्रमण गरेर मात्र प्रवेश गराउन अनुरोध गरेको छ । यस्तै, एउटा फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जाँदा सङ्क्रमण फैलने डर हुने भएकाले त्यसो नगर्न र प्रयोग भइसकेका अन्डा राख्ने कागजको क्रेटलाई पुनः प्रयोग नगर्न समेत सचेत गराइएको छ ।
रोग नियन्त्रणका लागि फार्मको जैविक सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै नगरपालिकाले फार्म वा खोरको प्रवेशद्वारमा अनिवार्य रूपमा चुन वा निसंक्रामक औषधि राखिएको ‘फुटबाथ’ को व्यवस्था गर्न र फार्मभित्र प्रवेश गर्दा छुट्टै बुट तथा एप्रोन प्रयोग गर्न निर्देशन दिएको छ । फार्म परिसरलाई दैनिक रूपमा निसंक्रमण गर्न र फार्मभित्र कुकुर, बिरालो, मुसा जस्ता अन्य जनावरलाई प्रवेश गर्न नदिन समेत भनिएको छ ।
उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले मासु तथा मासुजन्य पदार्थहरूलाई राम्ररी पकाएर मात्र सेवन गर्न र पंक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न सूचित गरेको छ ।