रवि लामिछानेको भारत भ्रमण प्रधानमन्त्रीसँग सम्बन्धित छैनः सरकार

काठमाण्डु टुडे २०८३ जेठ ११ गते २२:०८ मा प्रकाशित

काठमाण्डू, ११ जेठ- शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आसन्न भारत भ्रमणबारे प्रधानमन्त्री बालेन्द्र शाहलाई जानकारी नरहेको बताएका छन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा सोमबार उनले सभापति लामिछानेको भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध नरहेको बताए । लामिछानेको भ्रमण नितान्त व्यक्तिगत वा पिार्टीगत हुन सक्ने उनको भनाइ थियो ।

‘सभापतिज्यूको भ्रमण नितान्त निजी वा पार्टीगत हुन सक्छ’, पोखरेलले भने, ‘यसमा प्रधानमन्त्रीज्यूको कुनै सम्बन्ध छैन ।’ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा लामिछाने आगामी १९ जेठमा दिल्ली जाँदैछन् ।

प्रधानमन्त्री बालेन भने तत्काल विदेश भ्रमणमा जाने नीति नरेको उनले उल्लेख गरे । प्रधानमन्त्रीको मुख्य प्राथमिकता विदेश भ्रमण नभई सरकारको काममा रहेको उनले बताए ।

पोखरेलले सरकारको पहिलो एक सय दिनको कार्य व्यस्तताका कारण प्रधानमन्त्रीले कुनै पनि देशको भ्रमण गर्ने सोच बनाएको स्पष्ट गरे ।

‘प्रधानमन्त्रीज्यू अहिले भारत मात्र होइन । अन्य कुनै पनि देशको भ्रमणमा जाने तयारीमा हुनुहुन्न । हामी अहिले सरकारको सुरूआती सय दिनको कार्ययोजना र लक्ष्यमा बढी केन्द्रित छौँ ।’

उनले अधिकांश मन्त्रालयहरुले आ आफ्ना योजना र कार्यक्रम प्रस्तुत गरिसकेको र अर्थ मन्त्रालयले बजेट निर्माणको कामलाई तीव्रता दिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us