काठमाण्डू, ११ जेठ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू) को उडान सुरक्षा सूची (कालोसूची) बाट हटाउने प्रक्रियामा सहयोग गर्न ईयूका सदस्य राष्ट्रहरूसँग अनुरोध गरेका छन ।
आज (सोमबार) परराष्ट्र मन्त्रालयमा ईयूका राजदूतहरूको संयुक्त प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेको उल्लेखनीय प्रगति र भइरहेका सुधारलाई ध्यानमा राख्दै उक्त सूचीबाट हटाउन आग्रह गरेका हुन ।
भेटका अवसरमा मन्त्री खनालले नेपालसँग ईयूको निरन्तर विकास साझेदारीको प्रशंसा गर्दै व्यापार, जलवायु कार्य, शिक्षा र जनस्तरको सम्बन्ध जस्ता क्षेत्रमा सहयोग सुदृढ गर्नुपर्नेमा जोड दिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्री खनालले सरकारका प्रमुख प्राथमिकताका रूपमा तीव्र आर्थिक वृद्धिसँगै चुस्त सेवा प्रवाह र भ्रष्टाचारविरुद्धको कडा शून्य सहनशीलता रहेको जानकारी गराएका थिए ।
साथै, मन्त्री खनालले लगानी सहजीकरण, निर्यात प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र नवप्रवर्तन लाई प्रवर्द्धन गर्ने उद्देश्यले भइरहेका आर्थिक सुधारहरूबारे जानकारी गराउँदै जलविद्युत्, पर्यटन, पूर्वाधार विकास र सूचना प्रविधिको क्षेत्रमा थप लगानी गर्न ईयू राष्ट्रहरूलाई आग्रह समेत गरेका छन ।
प्रतिनिधिमण्डलको तर्फबाट बोल्दै नेपालका लागि ईयूकी राजदूत भेरोनिक लोरेन्जोले नयाँ सरकारप्रति ईयू सदस्य राष्ट्रहरूको समर्थनलाई पुनः पुष्टि गर्न यो भ्रमण भएको बताइन् ।
उनले ई–गभर्नेन्स र डिजिटलाइजेसनमा ईयूको विज्ञता आदानप्रदान गर्नेलगायत नेपाल र ईयूबीच सहकार्यका थप अवसरहरू खोज्ने भ्रमणको उद्देश्य रहेको प्रष्ट समेत पारेकी छन ।