काठमाण्डू, ११ जेठ– नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथाबाट पेशी तोक्ने अभ्यास हटाउने तयारीप्रति आपत्ति व्यक्त गरेका छन । गोलाप्रथामार्फत पेशी तोक्नुको सट्टा प्रधानन्यायाधीश स्वयंले पेशी तोक्ने प्रणालीले न्यायपालिकालाई राजनीतिक प्रभावतर्फ धकेल्ने उनको तर्क छ ।
आज (काठमाण्डूमा) आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्ल्दै उनले यस्तो बताका हुन । उनले भने, ‘अहिले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली हटाउने भन्ने कुरा आइरहेको छ ।
यदि त्यो हटायो भने के आन्दोलन गर्ने भन्ने अर्को एन्जाइटी छ । अब प्रधानन्यायाधीश हुनको लागि पनि त्याग तपस्या गर्नुपर्दैन ।’
सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा प्रणाली हटाए सशक्त आन्दोलन गर्ने समेत उनले बताए । प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै संवैधानिक परिषदमार्फत प्रधानमन्त्रीलाई मन पर्ने व्यक्तिलाई नियुक्त गर्ने अभ्यासको थालनी गरिएको टिप्पणी उनले गरे ।
सरकारको आलोचना गर्ने व्यक्तिलाई ‘झोले’को ट्याग भिराउन हजारौँ व्यक्ति परिचालन गर्ने गरिएको टिप्पणी समेत उनले गरे ।
अहिले न्यायपालिकाले गम्भीर परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै उनले यस्तो परिस्थितिमा कानून व्यवसायीहरूले विवेक गुमाउन नहुने समेत उनले बताएका छन ।