गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाण्डु टुडे २०८३ जेठ ११ गते १२:२० मा प्रकाशित

काठमाण्डू, ११ जेठ– प्रधानमन्त्री बालेन शाह (बालेन)ले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन । उनले त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई पठाइसकेको राष्ट्रपति कार्यलय स्रोतले जानकारी दिएको छ । गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ ।

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सहित विशिष्ट व्यक्तिहरुको सहभागिता रहन्छ । सो समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेको छ ।

तर प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिएका बालेन शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री बालेनले सो समारोहलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाएको स्रोतले जानकारी दिएको छ ।

‘गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले टुँडिखेलमा सम्बोधन नगरेर राष्ट्रपतिलाई सम्बोधन गर्नका लागि आग्रह गर्दै पत्राचार भएको छ,’ स्रोतले भन्यो ।

मन्त्रिपरिषदको निर्णय अनुसार गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिनु हुन अनुरोध गरिन्छ भन्ने व्यहोराको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us