काठमाण्डू, १० जेठ– नेपाल एयरलाइन्सको सञ्चालक सदस्य पदमा गरिएको नियुक्ति विवादमा तानिएको छ । गत ३१ वैशाखमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कास्कीका डा. दीपक प्रसाद बास्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाण्डूका रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाललाई सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
विभागीय मन्त्री खडक राज पौडेल (गनेस)को मन्त्रीस्तरीय निर्णयबाट भएको नियुक्तिसम्बन्धी यो विषय विवादमा तानिएको हो । प्रतिस्पर्धामा २७ जना रहेकामा मन्त्री पौडेलले चलखेल गरेर ५ जना छानेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म उजुरी परेको हो ।
५ जनाको नियुक्तिसम्बन्धी निर्णयबारे जानकारी दिन मन्त्रालयका सहसचिव जयराज अचार्यले जारी गरेको सूचनामा शैक्षिक योग्यता र अनुभव, व्यावसायिक कार्ययोजना परीक्षण, प्रस्तुतीकरण र अन्तर्वार्तापछि छनौट गरिएको भनिएपनि खुला प्रतिस्पर्धामा प्राप्त अंकलाई बेवास्ता गर्दै मनपरीरुपमा निर्णय गरेर सुशासनलाई नै धक्जी उडाउने काम मन्त्रीबाट भएको उजुरीमा उल्लेख गरीएको छ ।
०८३ वैशाख १२ गते गोरखापत्रमा नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य पदका लागि दरखास्त आह्वान भएको थियो ।
जेनजी आन्दोलनप्रश्चात सुशासन कायम गर्ने उद्देश्यसहित वर्तमान सरकार बनेपनि मन्त्रालयले चलखेलका आधारमा सञ्चालक सदस्य नियुक्ति गर्नु सरकारको सुशासनप्रतिको प्रतिबद्धतामाथि नै प्रश्न उत्पन्न भएको प्रधानमन्त्री कार्यालयमा दर्ता भएको उजुरीमा उल्लेख छ ।