नेपालगञ्ज – बाँकेसहित तराईका जिल्लामा बढ्दो गर्मीका कारण जनजीवन प्रभावित भएको छ ।
तीव्र घाम र तातो हावाका कारण दिउँसोपख सडकहरू सुनसान देखिन थालेका छन् ।
गर्मी बढेसँगै उखुको जुस, लस्सी तथा चिसा पेय पदार्थ बिक्री हुने स्थानहरूमा सेवाग्राहीको भीड बढेको छ ।
जल तथा मौसम विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार पछिल्लो दिनहरूमा तापक्रम लगातार बढिरहेको छ । उनले बिहीबार यस वर्षकै उच्च ४१.५ डिग्री सेल्सियस तापक्रम मापन भएको जानकारी दिए ।
उनका अनुसार केही दिन ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको छ । दिउँसो २ बजेदेखि ५ः४५ बजेसम्मको समय सबैभन्दा बढी गर्मी हुने उनले बताए ।
अत्यधिक गर्मीका कारण विद्यालयका बालबालिका, दैनिक मजदुरी गर्ने श्रमिक बढी प्रभावित भएका छन् ।
यसैबीच विद्युत् आपूर्ति र लो भोल्टेजको समस्याले पनि स्थानीयलाई थप कठिनाइ भएको छ । पङ्खा राम्रोसँग नचल्ने, पानी तान्ने मोटर र अन्य उपकरण बिग्रने समस्या देखिएको स्थानीयवासीले बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्राका अनुसार कोहलपुर ग्रिडमा बढेको लोडका कारण नेपालगञ्ज क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको हो ।
उनले दीर्घकालीन समाधानका लागि प्रसारण लाइन विस्तारको काम भइरहेको बताए ।