मदन भण्डारीका विचारलाई समयअनुकूल विकास गर्नुपर्छ : विद्यादेवी भण्डारी

काठमाण्डु टुडे २०८३ जेठ ९ गते १७:३७ मा प्रकाशित

काठमाडौं, ९ जेठ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीका विचारलाई समयअनुकूल रूपमा थप विकास गर्दै व्यवहारमा लागू गर्नुपर्ने बताएकी छन् ।

शनिबार आयोजित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा बोल्दै उनले वर्तमान नेपाली राजनीतिमा मदन भण्डारीका विचार अझै सान्दर्भिक र आवश्यक रहेको धारणा राखिन् ।
उनले लोकतन्त्र, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय र राष्ट्रिय एकतासम्बन्धी विषय फेरि राष्ट्रिय बहसको केन्द्रमा आइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा मदन भण्डारीका विचारमाथि गम्भीर अध्ययन, व्यापक बहस र समयअनुकूल प्रयोग गर्नु युवा पुस्ताको जिम्मेवारी भएको बताइन् ।

भण्डारीले मदन भण्डारीको खुला राजनीतिक जीवन छोटो भए पनि उनले नेपाली राजनीतिमा दीर्घकालीन वैचारिक प्रभाव छोड्न सफल भएको उल्लेख गरिन् ।

‘आज विश्व समुदाय र नेपाल दुवैले जटिल तथा बहुआयामिक चुनौती सामना गरिरहेका छन् । लोकतन्त्रप्रतिको विश्वास, राजनीतिक नैतिकता, सार्वजनिक उत्तरदायित्व, सुशासन, सामाजिक न्याय र राष्ट्रिय एकताका विषय पुनः राष्ट्रिय बहसका केन्द्र बनेका छन्,’ उनले भनिन् ।

उनका अनुसार मदन भण्डारीले स्थापित गरेको वैचारिक आधार, लोकतान्त्रिक संस्कृतिप्रतिको प्रतिबद्धता र राजनीतिक योगदान नेपाली राजनीतिक इतिहासका महत्वपूर्ण सम्पत्ति हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले विगतका राजनीतिक घटना र वैचारिक धाराको अध्ययनबाट भविष्यको दिशा तय गर्न सहयोग पुग्ने बताउँदै युवाहरूलाई सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गर्न पनि आग्रह गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us