रास्वपा बाराको बैठकमा हानाहान, सांसदहरुलाई सुरक्षित बाहिर निकालियो

काठमाण्डु टुडे २०८३ जेठ ९ गते १४:२५ मा प्रकाशित

बारा, ९ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको बैठकमा हात हालाहाल भएको छ ।

शनिबार कलैयास्थित एक पार्टी प्यालेसमा रास्वपाको बारा जिल्ला कमिटीको विस्तारित बैठक बसेको थियो ।
झडपपछि बैठकमा सहभागी सांसदहरु गणेश धिमाल, रहबर अन्सारी, चन्दन सिंह र अरविन्द साहलाई सुरिक्षत रुपमा बाहिर निकालिएको थियो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

रास्वपाको संगठन विभागले बुधबार विज्ञप्ति जारी गर्दै रास्वपा बाराका संस्थापक नेता एवं जिल्ला सभापति चन्दन सर्राफलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो ।

उक्त निर्णयप्रति असन्तुष्ट पक्षले बैठकमा विवाद झिकेपछि हातहालाहाल भएको बुझिएको छ ।

बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले भने घटना ढाकछोप गरे । हल सानो भएको र उपस्थिति बाक्लो भएकाले ठेलमठेल भएको उनले दाबी गरे ।

आफूहरु सुरक्षाका लागि बाहिरै भएकाले भित्रको घटनाबारे जानकारी नभएको भन्दै कुँवर पन्छिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us