अष्टक्ष्मीले पनि मागिन् ओलीको राजीनामा, पार्टीलाई पेवा नठान्न चेतावनी

काठमाण्डु टुडे २०८३ जेठ ९ गते १३:५७ मा प्रकाशित

काठमाण्डू, ९ जेठ– एमाले पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेकी छन् ।

ओली निवास गुण्डुमा एमाले सचिवालयमा बैठक जारी रहेका बेला सामाजिक सञ्जालमार्फत शाक्यले ओलीको राजीनामा मागेकी हुन् ।
शुक्रबारको सचिवालय बैठकमा उपाध्यक्षहरु विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, गोकर्णराज विष्ट र रघुजी पन्तले नेतृत्व छाड्न दबाब दिएका थिए ।

५ उपाध्यक्षमध्ये रामबहादुर थापा बादलले मात्र ओलीको बचाउ गरे । शाक्यले ‘सास रहुञ्जेल पदमा रहने’ प्रवृत्ति त्याग्न भन्दै सचिवालयको जारी बैठकबाटै ससम्मान नेतृत्व छाडेर युवा पुस्तालाई पार्टी जिम्मा लगाउन माग गरिन् ।

‘कमरेड सास रहुन्जेल एमालेको अध्यक्ष भइराख्ने तपाईंको सोँच गलत छ । अहिले एक्काइसौं शताब्दीमा छौं हामी। आजको समयको माग विचार, सामूहिकता, संघर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो’ शाक्यले भनिन् ‘अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ । कमरेडले यही बैठकबाट स(सम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुन्छ ।’

ओलीले पद छाडे एमाले पुनर्जीवित गर्न सकिने दाबी गरिन् । यद्यपि ओलीमा पुरानै दम्भ, घमण्ड र गुटगत सोच उस्तै देखेको टिप्पणी शाक्यको छ ।

‘गौरवपूर्ण इतिहास बोकेको एमाले आज कमजोर स्थितिमा पुगेको भन्दै उनले पुरानाले छाडेर युवालाई जिम्मेवारी दिए एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्याउन सकिने उल्लेख गरिन् ।

शाक्यले एमालेलाई आफ्नो पेवा ठनान्न चेतावनी दिइन् ।

‘अहिले पनि तपाईंले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच म उस्तै देख्छु। बलिदानको रगतले जन्मेको पार्टी हो एमाले’, शाक्यले भनेकी छन्, ‘लाखौं कार्यकर्ताहरूको त्याग र संघर्षबाट अगाडि बढेको पार्टी हो एमाले । यो पार्टी तपाईं को मात्र पेवा होइन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us