पाँचथर, ९ जेठ– पाँचथरको याङ्वरक गाउँपालिकामा शनिबार बिहानको रातीको पहिरोले भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी अनिश कर्णले अहिलेसम्म मानवीय क्षति भने नभएको जानकारी दिएका छन् ।
उनका अनुसार पहिरोका कारण याङ्वरक(१ निवासी महमलाल खवासको घर र गोठ, कविराज राईको घर तथा बलबहादुर खालिङको घरमा क्षति पुर्याएको छ ।
ओयाम बजार क्षेत्र नजिकै पनि पहिरो गएको छ। प्राकृतिक विपद्का कारण सखानेपानी, सिँचाइ कुलो र विद्युत् सेवामा समेत असर पुगेको छ ।
बाढी र पहिरोले यस क्षेत्रका विभिन्न पुल र सडक सञ्जालमा क्षति पुर्याउँदा यातायात ठप्प भएको छ ।
मध्यपहाडी लोकमार्गको थर्पु(चिवाभञ्ज्याङ खण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ भने दोभानेमा डाइभर्सन र एउटा निर्माणाधीन पुल बगेको छ ।
पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा आवतजावत रोकिएको छ ।
यसबाहेक, च्याङथापु–चाम्लिङडाँडा, च्याङथापु–एकराते र नाम्रेक–फलैचा जोड्ने झोलुङ्गे पुलहरूका साथै हिलिहाङ र ताप्लेजुङ जोड्ने निर्माणाधीन लिम्बुनी मोटरेबल पुलमा पनि बाढीले क्षति पुर्याएको छ ।
प्रभावित क्षेत्रमा विद्युत् र मोबाइल नेटवर्क अवरुद्ध भएकाले घटनाको विस्तृत विवरण संकल
न गर्न कठिनाइ भइरहेको छ । पाँचथर प्रहरी प्रमुख डिएसपी कर्णका अनुसार प्रहरीले क्षतिको विवरण संकलन गर्ने प्रयास गरिरहेको छ ।