देउवा पक्षलाई धन्यवाद दिएर पार्टीबाट बिदा गर्ने गगनको चेतावनी

काठमाण्डु टुडे २०८३ जेठ ९ गते ११:४२ मा प्रकाशित

विराटनगर, ९ जेठ– काँग्रेस सभापति गगनकुमार थापाले विधान नमन्ने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

विराटनगरस्थित कोइराला निवास पुगेर थापाले पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको असन्तुष्ट खेमालाई लक्षित गर्दै विधानको व्यवस्था सबैले मान्नुपर्ने बताए ।

जेनजी आन्दोलनका त्रममा ऐतिहासिक कोइराला निवासमा पनि आगजनी गरिएको थियो । कोइराला निवास परिसरमा सञ्चारकर्मीले सोधेका प्रश्नकोजवाफमा थापाले पार्टी विधान नमान्ने तथा संगठनात्मक काममा अवरोध गर्नेलाई अब धन्यवाद दिएर बिदा गरिने चेतावनी दिए ।

असन्तुष्ट पक्षका नेता कार्यकर्तालाई पार्टीमा जिम्मेवारी दिन प्रयासरत रहेको भन्दै विधानविपरीतका गतिविधि भने सह्य नहुने बताए ।
‘सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ’, थापाले भने, ‘तर पार्टीको काममै अवरोध गर्ने र विधान नमान्ने प्रवृत्तिलाई अब छुट दिइँदैन, आवश्यक परे धन्यवाद दिएर बिदा गरिन्छ ।’

समानान्तर गतिविधि थालेको पूर्वसभापति शेरबहादुर देउवा पक्षले केही दिनअघि मात्र छुट्टै सम्पर्क कार्यालय खोलेको समाचार आएको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us