क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

काठमाण्डु टुडे २०८३ जेठ ८ गते १६:१४ मा प्रकाशित

काठमाण्डू, ८ जेठ- किस्ट शिक्षण अस्पताल मा क्यान्सर उपचार सेवा अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ टोली तथा बहुविषयगत समन्वयमार्फत प्रभावकारी रूपमा सञ्चालन भइरहेको जानकारी गराइएको छ। अस्पतालको क्यान्सर उपचार सेवा विभागको नेतृत्व विभागीय प्रमुख प्रोफेसर डा. विष्णु दत्त पौडेल ले गरिरहनुभएको छ।

अस्पतालमा अनुभवी क्यान्सर शल्य चिकित्सक, क्यान्सर रोग विशेषज्ञ, रक्तसम्बन्धी क्यान्सर विशेषज्ञ तथा अन्य विशेषज्ञहरूको सशक्त टोलीमार्फत टाउकोदेखि खुट्टासम्म हुने सबै प्रकारका क्यान्सरहरूको पहिचान, शल्यक्रिया तथा उपचार सेवा उपलब्ध हुँदै आएको जनाएको छ।

किस्ट क्यान्सर केन्द्रले मेदान्ता गुरुग्राम सँगको सहकार्यमा टेलिमेडिसिनमार्फत दोस्रो राय तथा टेलि–परामर्श सेवा समेत प्रदान गर्दै आएको छ। अस्पतालका अनुसार यस सहकार्यले नेपालका क्यान्सर बिरामीहरूलाई अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

यसै क्रममा मेदान्ता गुरुग्राम, भारतका प्रख्यात क्यान्सर रोग विशेषज्ञ डा। सत्य पाल कटारिया विशेष अतिथि वक्ताका रूपमा सहभागी हुनुभएको थियो। उहाँको उपस्थितिमा दुई महत्वपूर्ण शैक्षिक तथा चिकित्सकीय कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालले जनाएको छ।

कार्यक्रममा किस्ट शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरूसँगै विभिन्न अस्पताल तथा संस्थाबाट आएका वरिष्ठ चिकित्सक तथा चिकित्सा विशेषज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा क्यान्सर उपचारका नवीनतम प्रविधि, जटिल बिरामीहरूको बहुविषयगत व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा गहन छलफल गरिएको थियो ।

अस्पतालले भविष्यमा पनि अन्तर्राष्ट्रिय सहकार्य, विशेषज्ञ सेवा विस्तार तथा आधुनिक उपचार प्रणालीमार्फत नेपालमै गुणस्तरीय क्यान्सर उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us