शीर्ष नेतालाई नै कारबाही गर्ने ओलीको तयारी, को–को छन् कारबाहीको सूचीमा ?

काठमाण्डु टुडे २०८३ जेठ ८ गते १२:२६ मा प्रकाशित

काठमाण्डू, ८ जेठ– एमालेले शीर्ष नेताहरूमाथि कारबाही गर्ने तयारी भइरहेको चर्चा छ । पार्टी पुनर्गठनको पक्षमा आवाज उठाइरहेका नेताहरू कारबाहीको भागिदार बन्नसक्ने संकेत देखिएको हो ।

यसअघि नेता योगेश भट्टराईले सार्वजनिक रूपमै पार्टी पुनर्गठनको आवश्यकता औँल्याउँदै आएका थिए । तर, चुनावपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले समेत भित्रभित्रै पार्टी पुनर्गठनको आवाज उठाइरहेको भन्दै उनीहरूप्रति पनि अध्यक्ष केपी शर्मा ओली सशंकित रहेको चर्चा एमालेभित्र चलिरहेको छ ।

महासचिव शंकर पोखरेललाई सचेत गराउने तथा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव योगेश भट्टराईलगायत नेतामाथि कारबाही गर्ने तयारी भएको स्रोतले जानकारी दिएको छ । गत सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले कार्यविभाजनको प्रस्ताव अघि सारेका थिए । तर, नेताहरूले भने कार्यविभाजनभन्दा पार्टी पुनर्गठनको प्रक्रियालाई प्राथमिकता दिनुपर्ने धारणा राख्ने तयारी गरेको गुन्डु स्रोतले जानकारी दिएको छ । ‘कार्यविभाजनको कुरा पछि हुन्छ ।

अहिले मुख्य कुरा पार्टी पुनर्गठन हो,’ एक शीर्ष नेताले भने, ‘अब सिंगो पार्टीलाई नयाँ ढंगले पुनर्संरचना गरेर अघि नबढ्ने हो भने कुनै पनि कार्यविभाजनको अर्थ रहँदैन ।’ सोमबारको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले ११ वटा प्रस्ताव पेस गरेका थिए । तर, ती विषयमा विस्तृत छलफल हुन सकेको थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us