काठमाण्डू, ७ जेठ– गत (सोमाबार) बसेको एमालेको सचिवालय बैठकमा पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही पदाधिकारी र केन्द्रीय सदस्यहरूको जिम्मेवारीबारे प्रस्ताव राखेका छन् ।
उक्त प्रस्तावबारे भोलि अर्थात् शुक्रबार बस्ने बैठकमा छलफल गरी निर्णय हुने बताइएको छ । एमाले अध्यक्ष ओलीले गरेको प्रस्तावमा विभिन्न विभाग, प्रदेश, जिल्लालगायतका कमिटीको इन्चार्जको जिम्मेवारी प्रस्ताव गरिएको छ । स्रोतका अनुसार पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुखमा डा. सूर्यप्रसाद पाठकलाई प्रस्ताव गरिएको छ । त्यस्तै विज्ञान तथा प्रविधि विभाग प्रमुखमा रचना खड्का, पार्टी स्कुल विभाग प्रमुखमा शेरबहादुर तामाङ, सुशीला नेपाललाई सामाजिक सेवा विभाग प्रमुखमा प्रस्ताव गरिएको छ ।
एमाले कानुन विभाग प्रमुखमा भने पूर्वमहान्यायधिवक्ता रमेश बडाललाई प्रस्ताव गरिएको स्रोतले जानकारी दिएको छ । यसअघि सूचना विभागको जिम्मेवारीमा रहेका राजेन्द्रप्रसाद गौतमलाई स्थानीय विकास विभागको जिम्मेवारी दिने गरी प्रस्ताव आएको छ । राष्ट्रियसभा सदस्यसमेत रहेकी रामकुमारी झाँक्रीलाई भने शहरी विकास विभाग तथा मिसन स्थानीय चुनाव गुल्मीको प्रमुख तोक्ने प्रस्ताव छ भने साहित्य कला तथा संस्कृति विभाग प्रमुखमा हेमराज राईको नाम प्रस्ताव आएको छ ।
लीलानाथ श्रेष्ठलाई मधेश प्रदेशको इन्चार्ज प्रस्ताव गरिएको छ । त्यसै गरी विनोद श्रेष्ठलाई मजदुर फाँटको इन्चार्ज, विष्णु रिजाललाई बुद्धिजीवी फाँट, शान्ता चौधरीलाई रिटर्नी फेडरेशन, लालबाबु पण्डितलाई सम्पर्क विशेष कमिटीको इन्चार्ज बनाउने तयारी रहेको स्रोतले जानकारी दिएको छ । ।
त्यस्तै रश्मि आचार्यलाई विद्यार्थी फाँट, मीनबहादुर शाहीलाई मानव अधिकार एलाइन्स, श्यामकुमार बस्नेतलाई बागमती सम्पर्क कमिटी, समिककुमार बडाललाई विद्यार्थी विशेष कमिटी, क्षितिज थेवेलाई युवा फाँट र हरिप्रसाद घिमिरेलाई भारत प्रवासको इन्चार्ज बनाउने तयारी रहेको छ । सचिवालय बैठकमा ओलीले राखेका प्रस्तावअनुसार सोलुखुम्बुको इन्चार्जमा पूर्व रक्षामन्त्री एवं केन्द्रीय सदस्य मानवीर राई, ओखलढुङ्गा इन्चार्जमा यज्ञराज सुनुवार, धनकुटा इन्चार्जमा राजेन्द्रकुमार राई, तेह्रथुम इन्चार्जमा विष्णुमाया विक, इलाम इन्चार्जमा राम राना, गोरखा इन्चार्जमा रामशरण बस्नेतलाई बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।
काठमाण्डू जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य रामेश्वर फुयाँललाई काठमाण्डू कमिटीको इन्चार्ज प्रस्ताव गरिएको छ । त्यस्तै रामेश्वर रानालाई मकवानपुर, रोमनाथ ओलीलाई झापा, लिलाधर भट्टलाई बैतडी, भक्तपुर इन्चार्जमा शकुन्तला श्रेष्ठ, बाँके इन्चार्जमा शान्तिदेवी ढकाललाई तोक्ने प्रस्ताव अध्यक्ष ओलीबाट आएको छ ।
योसँगै नवलपरासी इन्चार्जमा सरिता भुसाल खनाल, महोत्तरी इन्चार्जमा सरोजकुमार यादव, स्याङ्जा इन्चार्जमा सीमाकुमारी क्षेत्री, प्युठान इन्चार्जमा सूर्यबहादुर थापा क्षेत्री, रुकुम (पश्चिम) इन्चार्जमा सुशीलकुमार थापा र सर्लाही इन्चार्जमा हरिप्रसाद उप्रेतीलाई प्रस्ताव गरिएको छ । यीबाहेक विभिन्न जिल्ला कमिटीको जिम्मेवारी अहिले नै टुंग्याइएको छैन ।
एक पदाधिकारीका अनुसार यी प्रस्तावित नाम हुन् । शुक्रबारको बैठकले यसमाथि छलफल गर्दै टुंग्याउने छ भने बाँकी जिम्मेवारीका बारेमा पनि बैठकले निष्कर्ष निकाल्नेछ ।