धनगढीका मेयर नपुग्दै कुटिएको थियो वडा सदस्यको परिवार

काठमाण्डु टुडे २०८३ जेठ ७ गते ११:५८ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– बाजुरामा सीमा विवादको विषयलाई लिएर आक्रोशित समूहले ढुंगामुढा गरेपछि पर्यटन प्रवर्द्धनका लागि साइपालको रानीसैन बेसक्याम्प हिँडेको टोली फर्किएको छ । ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियान लिएर धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली साइपाल हिमालको रानीसैन बेसक्याम्प तर्फ अधि बढेको थियो ।

तर, बाजुरा–हुम्ला सीमा विवादका कारण हिमाली गाउँपालिका–३ को लाम्पाटामा एक समूहले मेयर हमाल नेतृत्वको टोलीलाई अघि बढ्न दिएन । ढुंगामुढा गर्दै उनीहरु आक्रमणमा उत्रिएपछि पर्यटन प्रवर्द्धनका लागि पुगेका जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाले भागेर ज्यान जोगाउन सफल भए ।

झन्डै तीन सयको संख्यामा रहेका हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयले ढुगामुढा गरेपछि भ्रमणमा हिँडेकाहरु भागिरहेको दृष्य सामाजिक सन्जालमा सार्वजनिक भिडियोहरुमा देखिन्छ । थालीका बासिन्दाले विगतदेखि नै लाम्पाटा क्षेत्रमा दाबी गर्दै आएका थिए । सोही कारण त्यहाँ विवाद थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माण गर्न ४० लाख बजेट विनियोजन गरेपछि थप विवाद बढेको थियो । कुनै पनि हालतमा प्रहरी चौकी निर्माण गर्न नदिने अडानमा खार्पुनाथका बासिन्दा थिए । धनगढीबाट टोली आउँदैछ भन्ने थाहा पाएपछि स्थानीयबासिन्दा त्यहाँ जम्मा भएको पाइएको छ । हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङले लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणका लागि जग्गा दान गरेका थिए ।

त्यसपछि उनी हुम्लाको खार्पुनाथको थाली गाउँको नजरमा परे । लाम्पाटा क्षेत्र आफ्नो दाबी गर्दै आएका थालीपासीको योजनामा गुरुङको परिवारमाथि आक्रमण गरिएको स्थानीयले बताएका छन । २ जेठदेखि नै दुई जिल्लाको सीमामा पर्ने लाम्पाटास्थित वडा सदस्यको घरमा उनीहरु जम्मा भएका थिए । प्रहरी चौकी बनाउन जग्गा दिएको निहुँमा उनीहरुले ३ जेठमा गुरुङको घरमा आक्रमण गरेका थिए । गुरुङ र उनकी श्रीमती लक्ष्मी गुरुङलाई घरमै कुटपिट गरिएको थियो ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले वडा सदस्यको परिवारमाथि कुटपिट गर्दै घर कब्जा गरी लुटपाट समेत गरेको पाइएको जानकारी दिएका छन । सोही क्रममा हिमालीका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापामाथि पनि आक्रमण भएको उनी बताउँछन् ।

तर, सञ्चार सम्पर्क नभएका कारण त्यहाँको वस्तुस्थितिबारे यथेष्ट सूचना प्राप्त गर्न सकिएको थिएन । धनगढीका मेयर हमालसहितको टोलीलाई साइपाल लैजान सहजीकरण गरेका अध्यक्ष मल्लले प्रहरी प्रशासनले समेत पर्याप्त सूचना नदिएपछि दोस्रो आक्रमणको स्थिति बनेको सुनाए । ‘त्यहाँ पहिले नै वडा सदस्यको परिवारलाई कुटपिट गरेर हुम्लाको खार्पुनाथका स्थानीयले नियन्त्रणमा लिइसकेका रहेछन् । जिल्लाका प्रहरी प्रमुखलाई बुझ्दा घटना समान्य हो ।

साम्य भइसक्यो भन्नुभयो,’ अध्यक्ष मल्लले भने, ‘त्यसपछि धनगढीको टोली अघि बढेको हो । तर त्यहाँ पुग्दा अवस्था अर्कै देखियो । बल्लतल्ल ज्यान जोगाएर फर्कियौँ ।’ उनका भनाइमा लाम्पाटा पुगेपछि मात्र वडा सदस्यको परिवारलाई मरणासन्न हुने गरी कुटपिट भएको थाहा भएको थियो । धनगढीको टोली पुगेपछि मात्र उनीहरु आक्रोशित समूहको नियन्त्रणबाट मुक्त भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us